Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Mr. Pawan Adhikari


Mr. Pawan Adhikari
President, Province. 1 Advertising Association of Nepal
Media Entrepreneur Award 2022 DUBAI

पवन अधिकारी अर्थात् मिडियाका ‘बेग’

इटहरी सुनसरीको तरहरा (हाल इटहरी उपमहानगरपालिकामा समाहित) बाट स्थानीय पत्रिका मार्फत मिडियाको दुनियाँमा झन्डै दुई दशकअघि ‘डेब्यु’ गरेका पवन अधिकारीका अहिले अनेक परिचय छन् ।
स्थानीयस्तरमा पत्रिका वितरण गरेर मिडिया क्षेत्रमा होमिएका उनी अहिले मिडिया उद्यमी पनि हुन् ।

नेपाल विज्ञापन वोर्डका सदस्थ तथा मिडिया उद्यमी, विज्ञापन एजेन्सीहरूको संगठनका सदस्य, नेपाल प्रेस युनियनका सुनसरी अध्यक्ष, जब लिंकका सञ्चालक लगायतका परिचय उनले स्थापित गरिसकेका छन् ।
यी पहिचानका आधार यसै बनेका होइनन् । मिडियाकर्ममा सँधै नै लगनशीलता, समाचारको दुनियाँ हुँदै सञ्चारका विविध क्षेत्रमा बेगजस्तो गतिले उनलाई स्थापित गरायो । अझ कोरोना महामारी सुरु भएपछि उनले मिडिया क्षेत्रमा गरेको योगदान, पत्रकारका लागि गरेको स्वास्थ्य बिमादेखि अनेक कार्यक्रमले पवनलाई गतिशील नै राख्यो ।

६ बैशाख २०७७ देखि नेपाल प्रेस युनियन सुनसरी शाखाको नेतृत्व गरेका उनले संगठनको कर्मको परिचय दिलाउन सफल भए । उनले संस्थागत रुपमा कोरोना संक्रमण हुने पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरिदिए । जसमा संक्रमित भएका जिल्लाभरका ३० जना पत्रकारलाई जनही एक लाख रुपैयाँका दरले रकम प्रदान गरी सकिएको छ । बाँकी रहेका १७ जनाको एक लाखका दरले आउने प्रक्रियामा छ । सरकारले नै रोकेका कारण त्यो पैसा आउन बाँकी रहेको छ ।

‘विचार लोकतान्त्रिक भएर मात्र हुँदैन कर्म लोकतान्त्रिक हुनुपर्छ’ भन्ने एक मानकका रुपमा स्थापित पवन भन्छन्, ‘कठोर पत्रकारिता र यसका कष्टप्रद दिनहरू हामीले बिताएर आयौं तर अब पत्रकारले उपचार खर्च, खान नपाएर समस्या भएको पीडाका गीत गाउनुपर्ने अवस्था नहोस् भन्ने मेरो विचार छ । यसमा थोरै हात बढाउने कोशिश मात्र गरेको हुँ ।’

काठमाडौं र आसपासका जिल्लामा रहेर मिडियामार्फत योगदान गर्छु भन्नेका लागि प्रचुर सम्भावना र पहुँच भएपनि सुनसरी जस्तो जिल्लामा कुनै पनि सोचलाई कार्यान्वयनमा ल्याउनु कम चुनौतिचाहिँ हुँदैन । तर, मोफसलमै पनि प्रयत्न गरेको खण्डमा सफलताको यात्रालाई निरन्तरता दिन सकिन्छ भन्ने उदाहरण हुन् पवन ।

विज्ञापन एजेन्सी होस् वा सामाजिक काममा सक्रिय रहेका कतिपय संस्था उनलाई स्मरण नगरी कुनै कार्यक्रम नै गर्न सक्दैनन् । स्थानीय स्तरमा विराट टेलिभिजन र तरहरा एफएम समेत सञ्चालन गरिरहेका उनी भन्छन्, ‘मिडियामार्फत समाजसेवा गर्न सकिन्छ, सूचनाको सेवा मात्र होइन हामी भौतिक रुपमा नै मैदानमा दिनदुःखी र गरिबको उद्दारका निम्ति सक्रिय हुन सक्छौं ।’ उनले समाचार लेखेरै मात्र सामाजिक परिवर्तन गर्न सकिने मात्रै नभई भौतिक रुपमै पनि असहाहरूको सेवामा हरसमय तत्पर रहन सकिने तर्क गर्छन् ।

मिडियाका विविधतामा खेल्न सक्नु नै उनको खुबी हो । धरानबाट प्रकाशित हुने औजार दैनिकदेखि सुरु भएको उनको पत्रकारिता यात्रा । त्यो यात्रा पछि पवनका लागि काठमाडौँमा प्रकाशित हुँदै आएको राजधानी दैनिक लगायतमा समाचार तथा विज्ञापन पठाउने एउटा स्ट्रिङगरको रुपमा उक्लिदैँ गयो । अहिले उनै पत्रपत्रिकाहरूका महाप्रबन्धक सम्मले पवनलाई स्मरण गरी ‘ब्यावसाय’ प्रबद्र्धनको सहयोग माग गर्दै आएका छन् ।

‘समयले व्यक्तित्व मात्र बनाउँदैन, राम्रो कर्म गरे उसको आर्थिक र सामाजिक भूमिका पनि प्रभावकारी बनाउँछ भन्ने लाग्छ । मेरा अग्रज त सँधै अग्रज हुन्छन् नै तर उनीहरूसँग काँध मिलाउन सक्नु पनि एउटा योग्यता ठानेको छु’, पवन भन्छन् ।

उनले अहिले पत्रकारिता गरिरहेकाहरूलाई ब्यावसायिक बन्न प्रेरित गरिरहेका छन् । कतिपय पत्रकारहरू यही क्षेत्रमै रहेर गुनासो गरिरहेका हुन्छन् । कतिले समाचार लेखेको पैसा नपाएको त, कतिले आफूले मिडिया क्षेत्रमा काम गरेबापतको पारिश्रमिक नपाएको गुनासो बेलाबेला सुनिन्छन् । स्वभाविक पनि हो । तर, मिडियामा काम गरिरहेकाहरूलाई उनी भन्छन्, ‘यो क्षेत्रमा लागेपछि ब्यावसायिक बन्नुपर्छ, मिडिया क्षेत्रमा आफ्नो भविष्य शुनिश्चित छ भन्ने लागेमात्र यसलाई दीर्घकालीन रुपमा अंगाल्नुपर्छ अन्यथा मिडियामै रहेर गुनासो गरिरहनुभन्दा अन्य ठाउँमै फड्को मार्दै जानुपर्छ ।’

विज्ञापन संघ प्रदेश १ का अध्यक्ष समेत रहेका उनी यसअघि अन्तराष्ट्रिय अवार्डबाट दुबईमा सम्मानित भइसकेका छन् । विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरूबाट पनि सम्मानित भइसकेका पवन भन्छन्, ‘निरन्तरको मिहिनेत, अथक प्रयास र संघर्ष गर्दा हरेक मानिसलाई सफलता मिल्छ जस्तो लाग्छ, म आफूलाई सफल मानिस भन्दिन तर सफल हुने अभ्यास गरिरहेको छु ।’ उनले हरेक समय मानिसले अभ्यास गर्नुपर्ने तर्क गरे । ‘अभ्यास नै सफलताको सुत्र हो भन्दा फरक पर्दैन,’ उनी भन्छन्, ‘समाजमा आर्थिक, सामाजिक रुपान्तरण गर्नका निम्ति पनि अभ्यास नै महत्वपूर्ण हुन्छ ।’